४ मंसिर, काठमाडौं । बाराको सिमरामा नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी समूहका युवाबीच बुधबार भएको विवाद र झडपपछि आज दोस्रो दिन पनि प्रदर्शन जारी रहेको छ।
बुधबार दिनभर तनावग्रस्त बनेको र जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश नै जारी गरेको सिमरामा बिहानैदेखि पुनः प्रदर्शन सुरु भएको हो । आज बिहान करिब १० बजेदेखि जेनजी युवाहरूले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरूले आफूहरूमाथि कुटपिट गर्ने एमालेका नेता तथा कार्यकर्ताहरूलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्दै विरोध गरिरहेका छन् । बुधबारको झडपपछि बेलुकापख स्थिति केही शान्त बने पनि आज बिहान पुनः प्रदर्शन सुरु हुँदा सिमरा क्षेत्रमा फेरि तनाव बढेको छ ।
स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न बुधबार कर्फ्यू आदेश जारी गरेको थियो । तर जेनजी युवाहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै दोस्रो दिन पनि सडकमा उत्रिएका छन्, जसले गर्दा यस क्षेत्रको जनजीवन थप प्रभावित बनेको छ ।















