Logo

४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको संयुक्त मुद्दा उच्च अदालत बुटवलमा आज पेसीमा चढ्दा पनि सुनुवाइ हुन सकेन ।

उच्च अदालत बुटवलको ३ नम्बर इजलास मा पेसी तोकिएको यो मुद्दा लामिछाने पक्षका कानुनी व्यवसायीले निवेदन दिएपछि स्थगित गरिएको हो । उच्च अदालत बुटवलका उपरजिस्टार यज्ञ मूर्ति ज्ञवालीले रातोपाटीलाई जानकारी दिए अनुसार, न्यायाधीश मिलन कुमार राई र सानुमाया डङ्गोल को संयुक्त इजलासमा परेको यो मुद्दा लामिछानेको पक्षबाट निवेदन आएकाले स्थगित गरिएको हो ।

यसअघि, सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका यी दुई जनाको मुद्दामा गत हप्ता न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले मुद्दाको मूल मिसिल झिकाउनका लागि आदेश दिएको थियो । जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

लामिछानेले सहकारी अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि साउन २६ गते जिल्ला अदालतले उनलाई रिहा गर्न अस्वीकार गरेको थियो । अदालतले लामिछाने र जोशीको मुद्दालाई एउटै साथ हेर्ने गरी यसअघि नै आदेश दिइसकेको छ ।


सम्बन्धित समाचार