Logo

४ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अवैध आप्रवासीहरूलाई फिर्ता गर्ने कडा नीतिको असरस्वरूप एकैपटक ३५ जना नेपाली नागरिकहरू अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार, फर्काइएकामध्ये अधिकांश व्यक्तिहरू अवैध तरिकाले तल्लो बाटो हुँदै अमेरिका पुगेकाहरू छन् । डिपोर्ट हुनेहरूमा अवैध आप्रवासी मात्र नभएर एक जना विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेका छन् । ती व्यक्तिले कलेजमा भिसा नवीकरण नगरी भिसाको सर्त विपरीत काम गरेको पाइएपछि उनलाई फिर्ता गरिएको हो। यस्तै, अर्का एक जना भिजिट भिसामा गएर काम गर्न थालेका कारण पक्राउ परेर डिपोर्ट भएको पाइएको छ ।

बाँकी ३३ जना भने विभिन्न देश हुँदै अवैध तरिकाले अमेरिका छिरेका हुन् । यसरी अवैध मार्गबाट अमेरिका पुग्नेहरूले ८० लाख रुपैयाँसम्म तिर्ने गरेको पाइएको छ । अवैध तरिकाले छिरेको २ वर्षपछि पनि अमेरिकाले खोजी गरेर फिर्ता पठाएको छ। प्रहरीका अनुसार फर्काइएकाहरूमध्ये अधिकांश रुकुम र दाङतिरका रहेका छन् ।

यद्यपि, उनीहरूले मानव बेचबिखनमा संलग्नहरूविरुद्ध जाहेरी दिन भने अस्वीकार गरेका छन् । डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि सुरु गरिएको अवैध आप्रवासी फिर्ता अभियान अन्तर्गत हालसम्म २०० भन्दा बढी नेपालीहरू अमेरिकाबाट डिपोर्ट भइसकेका छन् ।


सम्बन्धित समाचार