५ मंसिर, काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि मतदाता नामावलीमा नाम दर्ता गराउने आज अन्तिम दिन हो । यसअघिको कात्तिक मसान्तसम्मको समयसीमा निर्वाचन आयोगले माग तथा आवश्यकता अनुसार आजसम्म विस्तार गरेको हो ।
राष्ट्रिय परिचयपत्र नम्बर भएकाले अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिने सुविधा आयोगले उपलब्ध गराएको छ। जैविक विवरण (बायोमेट्रिक) राष्ट्रिय परिचयपत्रसँग लिंक भएपछि मतदाता नामावलीमा दर्ता प्रक्रिया पूरा हुने व्यवस्था छ। आयोगका अनुसार अहिले सम्म सात लाखभन्दा बढी नयाँ मतदाता सूचीमा समावेश भइसकेका छन्।
मतदाता नामावलीमा त्रुटि भएका मतदाताले आगामी मंसिर २१ देखि २७ गतेभित्र सच्याउन सक्नेछन्। नामावलीमा कुनै गल्ती देखिएको, कसैले झुटा विवरण दिएर नाम दर्ता गरेको, एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा सूचीकृत भएको वा मृत्यु वा नागरिकता परित्यागका कारण नाम हटाउनुपर्ने अवस्थामा आयोगले सो अवधिमा उजुरी तथा निवेदन दिन सकिने व्यवस्था मिलाएको छ।
मतदाताहरूले आयोगको वेबसाइट, सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमार्फत आवश्यक निवेदन, उजुरी वा सूचना दिन सक्नेछन्।
प्राप्त उजुरी तथा सूचनाहरूको छानबिन सम्बन्धित निर्वाचन कार्यालयबाट गरिने आयोगले जनाएको छ। छानबिन तथा आवश्यक कारबाहीपछि पुस १५ गते अन्तिम मतदाता नामावली प्रकाशित गरिनेछ। सो नामावली सम्बन्धित निर्वाचन कार्यालय तथा वडा कार्यालयमा टाँस गरिनेछ।

















