Logo

५ मंसिर, काठमाडौँ । सेन्ट्रल भियतनाममा विगत केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण कम्तीमा ४१ जनाको ज्यान गएको छ।

स्थानीय मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार बाढी–पहिरोका घटनाले ५२ हजारभन्दा धेरै नागरिक घरबारविहिन बनेका छन् भने झन्डै पाँच लाख परिवार अन्धकारमा बस्न बाध्य छन्।

सबैभन्दा धेरै प्रभावित क्षेत्रमध्ये होइ एन र ना त्राङ रहेका छन्। त्यस्तै सेन्ट्रल हाइल्यान्ड का कफी उत्पादन हुने महत्वपूर्ण क्षेत्र पनि बाढीले प्रभावित बनेका छन्। केही समयअघि आएको आँधीका कारण कृषकहरू समयमै कफी भित्र्याउन नसकिरहेका बेला फेरि अविरल वर्षाले थप क्षति पुर्‍याएको स्थानीय अधिकारीहरूको भनाइ छ।

सडक तथा पूर्वाधारमा व्यापक क्षति पुगेपछि भियतनामी सरकारले विभिन्न स्थानमा आपतकाल घोषणा गर्दै उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरेको छ। सरकारका अनुसार पहिरोले यातायात अवरुद्ध हुँदा थुप्रै दुर्गम बस्तीहरूमा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

भियतनाम पछिल्लो केही महिनादेखि निरन्तर प्राकृतिक प्रकोपको चपेटामा पर्दै आएको छ। केही साताअघि मात्रै लगातार दुई शक्तिशाली आँधी ले देशका दक्षिण–पूर्वी क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएको थियो।

सरकारको प्रारम्भिक अनुमान अनुसार जनवरीदेखि अक्टोबर बीचका विभिन्न प्रकोपले भियतनाममा करिब २ अर्ब अमेरिकी डलर बराबरको क्षति भइसकेको छ।


सम्बन्धित समाचार