Logo

५ मंसिर, काठमाडौं ।  नागरिक समूहले हालै बाराको सिमरामा उत्पन्न तनावपूर्ण घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकार, जेनजी समूह र राजनीतिक दलहरू तीन वटै पक्षलाई संयमित हुन र देशलाई संवैधानिक मार्गमा प्रतिबद्ध राख्न जोडदार अपिल गरेको छ।

समूहका अध्यक्ष विष्णुहरि दाहालले एक विज्ञप्ति जारी गर्दै राजनीतिक स्थायित्व कायम गरी फागुन २१ गते तोकिएको निर्वाचनको तयारीको यस संवेदनशील चरणमा देखिएको पछिल्लो अराजनीतिक गतिविधिले देशको समग्र लोकतान्त्रिक प्रक्रियामै प्रतिकूल प्रभाव पारेको उल्लेख गरेका छन् । विज्ञप्तिमा सिमरा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा भएको भिडन्त, कर्फ्यू आदेश, संरचनामा क्षति तथा दुवै पक्षबाट देखिएका असजिला व्यवहारहरूले मुलुकलाई अनावश्यक संकटको दिशामा धकेल्ने संकेत दिएको जनाइएको छ।

नागरिक समूहले स्पष्ट रूपमा जेनजीको नाममा कुनै समूहले कुनै दललाई लक्षित गरी निषेधात्मक कदम चाल्नु लोकतान्त्रिक प्रतिस्पर्धामाथिको प्रहार भएको ठहर गरेको छ । साथै, दलहरूले पनि प्रतिवादका नाममा तनाव थप्ने काम गरेमा सुरक्षा अवस्था जटिल बन्ने र यसले फागुन २१ मा शान्तिपूर्ण निर्वाचन गराउन कठिन हुने चेतावनी दिएको छ, जसबाट देश राजनीतिक शून्यतामा धकेलिन सक्ने खतरा औंल्याइएको छ।

नागरिक समूहले सबै पक्षलाई शान्ति सुव्यवस्थामा खलल पुग्ने र चुनावी वातावरण बिग्रने कुनै पनि गतिविधि नगर्न अनुरोध गर्दै, संवादमार्फत समस्या समाधान गर्न र संवैधानिक मार्गप्रति प्रतिबद्ध रहन अत्यावश्यक भएकोमा जोड दिएको छ।

उनीहरूले दलहरूलाई चुनावी गतिविधि गर्दा उक्साहट, भिडन्त र तनाव निम्त्याउने कार्यबाट अलग रहन आग्रह गरेका छन् भने जेनजी युवाहरूलाई पनि बदलाको भावना, हिंसा र निषेधको सट्टा संविधानको ख्याल गर्दै लोकतान्त्रिक मूल्य र शान्तिपूर्ण अभिव्यक्तिको बाटोमा हिँड्न विकल्प नरहेको सल्लाह दिएका छन् । अन्तमा, सरकारलाई फागुन २१ मै शान्तिपूर्ण र निष्पक्ष चुनाव सम्पन्न गर्ने ऐतिहासिक दायित्व पूरा गर्न गम्भीर बन्नुपर्ने आग्रह गरिएको छ।


सम्बन्धित समाचार