५ मंसिर, काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि द्वन्द्वकालका घटनाहरूमा न्याय पाउन नसकेको भन्दै द्वन्द्वपीडितहरूले सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालय अगाडि धर्ना दिएका छन् ।
उनीहरूले आयोगमाथि गम्भीर प्रश्न उठाउँदै यो दलीय भागबण्डाको आधारमा नियुक्त भएका पदाधिकारीहरूको नियन्त्रणमा रहेकाले यसले पीडितलाई न्याय दिन नसक्ने दाबी गरेका छन् । धर्नामा सहभागी पीडितहरूले आयोगका पदाधिकारीहरूलाई पदको लोभ त्यागेर तत्काल राजीनामा दिन माग गरेका छन् ।
धर्नाका क्रममा प्रदर्शनकारीहरूले बोकेको ब्यानरमा स्पष्ट रूपमा विधि, प्रक्रिया र मापदण्ड मिचिेर फेरि तेस्रोपटक पनि दलीय भागबण्डा र नेताको खल्तीबाट गठित र राजनीतिक नेतृत्वबाट नियन्त्रित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तत्काल खारेज गरु भन्ने नारा लेखिएको थियो । उनीहरूले वर्तमान पदाधिकारीहरूको राजीनामापश्चात् नयाँ पदाधिकारी नियुक्तिका लागि विश्वसनीय र पारदर्शी प्रक्रिया अपनाउन सरकारसँग अनुरोध समेत गरेका छन् । द्वन्द्वपीडितहरूको यो कदमले नेपालको संक्रमणकालीन न्याय प्रक्रियाको असफलता र राजनीतिक हस्तक्षेपप्रतिको गहिरो असन्तुष्टि झल्काउँछ।















