५ मंसिर, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नेपाल प्रहरीले थप १०० वटा नयाँ गाडी खरिद गर्न लागेको छ ।
जेन–जी प्रदर्शनका क्रममा सवारी साधनमा आगजनी भएको र आसन्न निर्वाचनलाई मध्यनजर गर्दै प्रहरीले अर्थ मन्त्रालयको सहमतिपछि विशेष अवस्था भन्दै फास्ट ट्रयाकमा खरिद प्रक्रिया अघि बढाएको छ । यसका लागि टेन्डर आह्वान भइसकेको र मंसिर ७ गते बोलपत्र खोलिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसअघि पनि प्रहरीले ८५ वटा (७५ पिकअप पट्रोल भ्यान र १० विद्युतीय पिकअप स्कर्ट भ्यान) गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । ७५ वटा पिकअप पट्रोल भ्यान (महिन्द्रा स्कोर्पियो) ४२ लाखभन्दा कम मूल्यमा खरिद गर्ने ठेक्का अग्नि इन्कर्पोरेटले पाएको छ भने १० वटा विद्युतीय पिकअप स्कर्ट भ्यान खरिदको ठेक्का सीजी मोटर्सले लिएको छ । यी खरिद सम्झौता सार्वजनिक खरिद ऐनको समयसीमाभन्दा चाँडो, अर्थात् निर्वाचनअघि नै, सामान प्राप्त गर्ने गरी गरिने प्रहरी अधिकारीहरूले बताएका छन् ।
सवारी साधनका साथै, जेन–जी प्रदर्शनको अनुभवपछि प्रहरीले भिड नियन्त्रण सामग्री (राइट कन्ट्रोल गियर) को अभाव पूर्तिमा पनि ध्यान दिएको छ। प्रहरीले हालै ६ सय वटा हेलमेट खरिद गरिसकेको छ भने ४ हजार थान ‘राइट कन्ट्रोल गियर’ पनि खरिद गर्न लागेको छ, जुन मंसिर १५ भित्र प्राप्त गर्ने गरी सम्झौता भएको छ । यसअघि जेन(जी आन्दोलनमा प्रहरीले सशस्त्र प्रहरीसँग अश्रुग्यास सापटी लिएर प्रयोग गरेको थियो ।
निर्वाचनअघि २४ हजार सेल अश्रुग्यास खरिद गर्नेगरी सम्झौता भए पनि ६ हजार ३ सय सेल मात्र आइपुग्ने प्रहरी स्रोतले जनाएको छ ।















