५ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ जारी गर्नुभएको छ।
मङ्गलबारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसबमोजिम राष्ट्रपति कार्यालयले उक्त अध्यादेश जारी गरेको हो । यो अध्यादेश ल्याउनुको मुख्य उद्देश्य प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभाग (राअवि) लाई पुनः गृह मन्त्रालय मातहत ल्याउनु हो । यसअघि सरकारले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई पनि पूर्ववर्ती मन्त्रालयहरूमा फर्काउने निर्णय गरेको थियो । अन्य विभागहरू पुरानै संरचनामा फर्किए पनि कानुनी अड्चनका कारण राअवि भने प्रधानमन्त्री कार्यालय मातहत नै रहँदै आएको थियो, जसलाई यो अध्यादेशमार्फत सच्याइएको हो ।















