५ मंसिर, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि हालसम्म ३७ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
आयोगले दिएको जानकारी अनुसार, दल दर्ता गर्ने पार्टीहरूमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), आम जनता पार्टी, जनता समाजवादी पार्टी ९जसपा० लगायतका दलहरू समावेश छन् । यद्यपि, प्रमुख ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमाले लगायतका पार्टीहरूले भने निर्वाचन प्रयोजनका लागि अहिलेसम्म आयोगमा दर्ता प्रक्रिया पूरा गरेका छैनन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा कुल १२६ वटा दल दर्ता भए पनि तीमध्ये ३७ दलले मात्र प्रतिनिधिसभाको चुनाव लड्ने गरी दर्ता गराएका छन्, भने बाँकी ३० दल दर्ता प्रक्रियामा रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम मिति यही मंसिर १० गतेसम्म तोकिएको छ ।
यसैबीच, निर्वाचन आयोगले मतदाता नामावलीसम्बन्धी महत्त्वपूर्ण मितिहरू पनि सार्वजनिक गरेको छ । आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरूलाई मतदाताका रूपमा गणना गरिनेछ । सोही आधारमा तयार पारिएको मतदाताको विवरण यही मंसिर २० गते आयोगको वेबसाइटमा प्रकाशित गरिनेछ र त्यसपछि मंसिर २१ देखि २७ गतेसम्म त्रुटि सच्याउन र उजुरी दिन सकिनेछ ।
मतदाताको अन्तिम नामावली भने आगामी पुस १५ गते सार्वजनिक गरिने आयोगले जनाएको छ । आयोगले निर्वाचनलाई सफल बनाउन सुरक्षा र व्यवस्थापकीय कार्यलाई कार्ययोजना बनाएर अघि बढाइरहेको पनि बताएको छ ।















