Logo

६ मंसिर, बारा । बाराको सिमरामा तीन दिनदेखि जारी तनाव मौखिक सहमतिसहित अन्त्य भएको छ । जेनजी युवाहरूले शुक्रवार स्थानीय प्रशासनसँग भएको वार्तापछि आन्दोलन सोमबारसम्म स्थगित गर्ने निर्णय गरेका छन् ।

शुक्रवार पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक शिक्षालयमा जेनजी प्रतिनिधि र प्रशासनबीच वार्ता भएको थियो। वार्तामा प्रशासनले जेनजीमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्ने, घाइतेहरूको उपचारमा समन्वय गर्ने र आवश्यक सुरक्षा व्यवस्था मिलाउने आश्वासन दिएको जेनजी पक्षले जनाएको छ ।

जेनजी बाराका संयोजक सम्राट उपाध्यायका अनुसार नेकपा एमाले निकट कार्यकर्ताबाट आक्रमण भएको भन्दै आफूहरूले राखेका माग पूरा गर्ने प्रतिबद्धता स्थानीय प्रशासनबाट आएपछि शनिवार र आइतवार पर्खने निर्णय गरिएको हो। उनले भने, “सोमबारसम्म सहमति कार्यान्वयनमा आलटाल भए आन्दोलन पुनः तीव्र बनाइनेछ।”

प्रहरी नेतृत्वमै बदलाब

सिमरा घटनापछि प्रहरी प्रधान कार्यालयले बाराका एसपी सन्तोष तामाङलाई फिर्ता बोलाएको छ। उनको स्थानमा एसपी नरेन्द्र कुँवरलाई काज सरुवा गर्ने निर्णय भएको प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले पुष्टि गरेका छन्। कुँवर यसअघि मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए ।

सन्तोष तामाङ

बुधबार सिमरामा नेकपा (एमाले) कार्यकर्ता र जेनजी प्रदर्शनकारीबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो। बिहीबार प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले गोलीसमेत चलाएको थियो।

९ जनाविरुद्ध किटानी जाहेरी, दुई वडा अध्यक्ष पक्राउ

जेनजी समर्थकमाथि कुटपिट भएको आरोपमा प्रदर्शनकारीले ९ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले केही आरोपीलाई पक्राउ गरेको छ । जितपुर–सिमरा उपमहानगरपालिका–२ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा–६ का अध्यक्ष कैमुद्धिन अन्सारी लाई प्रहरीले पक्राउ गरेको हो  ।

स्थानीय प्रशासनले स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको बताएको छ । सहमति कार्यान्वयन र छानबिनको निष्पक्षतासम्बन्धी जेनजी पक्षका शंकालाई सम्बोधन गर्न प्रशासन र सुरक्षा निकायको भूमिका अब निर्णायक हुने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार