६ मंसिर, काठमाडौँ । सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) ले पहिलोपटक छपाइ सम्पन्न गरेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) औपचारिक रूपमा यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ। केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले शुक्रबार विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई लाइसेन्स बुझाएका छन्।
शनिबार प्रकाशित गोरखापत्र दैनिकका अनुसार, ‘क्युआर कोड’ सहितको नयाँ स्वरूपको अनुमतिपत्र छपाइ परीक्षण सफल भएपछि पहिलो चरणमा पाँच सय बीस थान लाइसेन्स विभागलाई उपलब्ध गराइएको हो। केन्द्रलाई प्राप्त १२ सय आवेदकका विवरणअनुसार दोस्रो चरणको छपाइ अघि बढाइने सुरक्षण मुद्रण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अब लाइसेन्स छपाइ निरन्तर रूपमा हुने छ।
कात्तिक १२ गते सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच छ महिनाभित्र १२ लाख थान अनुमतिपत्र उपलब्ध गराउने सम्झौता भएको थियो ।
कार्यकारी निर्देशक ढुङ्गानाले विभागबाट प्राप्त हुने तथ्याङ्कका आधारमा छपाइ गति बढाइने बताए । उनका अनुसार विभागले पठाउने विवरणअनुसार जति आवश्यक भए पनि लाइसेन्स छाप्ने क्षमता केन्द्रसँग छ। छापिएका सबै अनुमतिपत्रको नेपालमै गुणस्तर परीक्षण गरिएपछि मात्र विभागलाई हस्तान्तरण गरिएको उनको भनाइ छ।
यातायात व्यवस्था विभागका निर्देशक खतिवडाले सुरक्षण मुद्रण केन्द्रबाट अनुमतिपत्र प्राप्त भएपछि विगत चार–पाँच वर्षदेखिको लाइसेन्स अभाव अन्त्यतर्फ गएको टिप्पणी गरे।
उनका अनुसार विभागले दैनिक २ हजार आवेदकका तथ्याङ्क केन्द्रलाई पठाउन सक्ने वैकल्पिक सफ्टवेयर विकास गरिरहेको छ, जसलाई एक महिनाभित्र सञ्चालनमा ल्याइने छ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको आफ्नै भवनमा कात्तिक २१ गतेदेखि लाइसेन्स छपाइ सुरु गरिएको हो ।
यससँगै नेपालमा आधुनिक, सुरक्षित र विश्वसनीय सवारीचालक अनुमतिपत्र उत्पादन प्रक्रिया स्वदेशमै सुचारु हुँदै, दीर्घकालीन समस्या समाधानतर्फ महत्वपूर्ण प्रगति भएको मानिएको छ।















