Logo

६ मंसिर, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिएको छ । प्रारम्भिक रूपमा कात्तिक मसान्तसम्म तोकिएको दर्ता अवधि नयाँ मतदाताको चाप बढेपछि निर्वाचन आयोगले मंसिर ५ गते सम्मका लागि थप गरेको थियो ।

आयोगका अनुसार दर्ता अवधिभर ७ लाखभन्दा बढी नयाँ मतदाता नामावलीमा समावेश भएका छन् । सबै विवरण यकिन गरी छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको आयोगले जनाएको छ । राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइनमार्फत दर्ता हुने व्यवस्था आएपछि अनलाइन दर्ता गर्नेको संख्या उल्लेख्य रूपमा बढेको आयोगले बताएको छ।

आयोगले मतदाता नामावलीको त्रुटि सच्याउने कार्य मंसिर २१ देखि २७ गतेसम्म सञ्चालन गर्ने भएको छ । यस अवधिमा नामावलीमा त्रुटि परेमा सच्याउन, कसैले झुटा विवरण दिएर नाम समावेश गरेको भए उजुरी दिन, एउटै व्यक्तिको नाम एकभन्दा बढी ठाउँमा दर्ता भएमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन सकिनेछ । त्यस्तै, मृत्यु भएका वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन पनि निवेदन दिन सकिने आयोगले जानकारी दिएको छ ।

यसबारे निवेदन, उजुरी वा सूचना आयोगको वेबसाइटमार्फत वा सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा दिन सकिने व्यवस्था गरिएको छ । प्राप्त गुनासा र उजुरीहरूको छानबिन गरी पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमार्फत अन्तिम मतदाता नामावली प्रकाशित गरिने आयोगले जनाएको छ ।


सम्बन्धित समाचार