६ मंसिर, काठमाडौँ । राजधानीमा जारी नेपालको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुने भएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल बिहान ११:१५ बजे कर्णाली र लुम्बिनी लायन्सबीच हुनेछ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लगातार दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रिँदैछ। लुम्बिनीले प्रतियोगिताको आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको थियो। सोमपाल कामी नेतृत्वको कर्णालीका लागि पनि आजको खेल महत्वपूर्ण छ। पहिलो खेलमा चितवनसँग पराजित भएको कर्णाली आज विजयको खातामा पहिलो अंक जोड्ने लक्ष्यमा छ।
दिउँसो ३:३० बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किङ्स आमनेसामने हुनेछन्। करण केसीको कप्तानीमा रहेको काठमाडौँ आफ्नो तेस्रो खेल खेल्न मैदानमा उत्रनेछ। पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराउन सफल काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग अप्रत्याशित रूपमा पराजित भएको थियो।
सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्स भने लगातार दोस्रो जितको खोजीमा छ। विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै प्रभावशाली सुरुआत गरेको थियो।
आजका दुबै खेलले अंकतालिकामा महत्वपूर्ण प्रभाव पार्ने भएकाले समर्थकहरू बीच रुचि बढेको छ।

















