Logo

६ मंसिर, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार युवा पुस्तासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित आयोजना गरिएको ‘जेनजीसँग–नेकपा’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा सहभागी हुने भएका छन्।

पार्टीका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’का अनुसार कार्यक्रम राजधानीको कोटेश्वरस्थित पेरिसडाँडामा बिहान ११ बजेबाट शुरु हुनेछ।

नेता सापकोटाले प्रचण्डसहित नेकपाका अन्य शीर्ष नेताहरूको समेत सहभागिता रहने जानकारी दिँदै युवा पुस्ता, विशेषगरी जेनजीले नेपालको भविष्य, शासन व्यवस्था र दलको भूमिकाबारे राख्ने प्रश्न तथा सुझावमा केन्द्रित गर्ने उद्देश्य रहेको बताए।

पार्टी नेतृत्व र युवा पुस्ताबीचको दूरी कम गर्दै राजनीतिक तथा सामाजिक विषयमा खुला संवाद स्थापित गर्ने कार्यक्रमका रूपमा यसलाई हेरिएको छ।

अन्तरक्रिया कार्यक्रम तत्कालीन माओवादी निकट युवा संगठन वाईसीएल नेपालले आयोजना गरेको हो। कार्यक्रमअन्तर्गत राजनीतिक छलफलसँगै सांस्कृतिक प्रस्तुति, म्युजिक कन्सर्ट र सहभागीहरूबीच समूहगत विचार-विनिमयका सेसनहरू पनि हुनेछ। आयोजकका अनुसार युवाहरूमा राजनीतिक चासो र सहभागिता अभिवृद्धि गर्न तथा संगठनप्रति आकर्षण बढाउने दीर्घकालीन उद्देश्य कार्यक्रमले राखेको छ।

नेकपाले हाल युवा पुस्तामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा यो कार्यक्रमलाई महत्वपूर्ण कदमका रूपमा लिएको बताइएको छ।


सम्बन्धित समाचार