Logo

 ६ मंसिर,काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संविधानविपरीत बनेको दाबी गर्दै यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतबाटै हुनुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछि आमसभा सम्बोधन गर्दै उनले अदालतले यस्तो सरकारलाई कुनै हालतमा वैधता दिन नसक्ने स्पष्ट दाबी गरे।

अध्यक्ष ओलीले भने, “यस्तो सरकारको संवैधानिक परीक्षण सम्मानित अदालतबाट हुनैपर्छ। संविधानले कुनै हालतमा यो सरकारलाई उचित ठहर्याउन ठाउँ दिँदैन, कोर्टले यसलाई संवैधानिक ठहर्याउन सक्दैन।” उनले आवश्यक परे एमाले नै यसको कानुनी चुनौतीको नेतृत्व गर्न तयार रहेको बताए।

ओलीले एमाले देशको स्वाभिमान, शान्ति, सुव्यवस्था र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न गठन भएको पार्टी भएको दाबी गरे। “यो पार्टी जनतालाई सहज रूपमा सेवा–सुविधा उपलब्ध गराउने, सुशासन र शान्तियुक्त समाज निर्माण गर्ने लक्ष्यसहित बनेको हो,” उनले भने।

उनका अनुसार एमाले देशमा सबल उपस्थिति भएको राजनीतिक शक्ति हो र कसैले ‘अवैध तरिकाले’ सत्ता कब्जा गर्न खोजेमा पार्टीले फेरि लोकतान्त्रिक प्रक्रियामार्फत मार्ग सुधार गर्नेछ। “देशमा नेकपा एमाले छ भन्ने कुरा सबैले बुझ्नुपर्छ,” उनले भने।

ओलीले संविधान मिचेर बनेको सरकारले देशलाई अराजकतामै धकेलेको आरोप पनि लगाए। “अराजकताको राज लामो समय जान सक्दैन। नेकपा एमालेले छिट्टै यसको अन्त्य गर्छ,” उनले भने, “जनताको नेतृत्व गर्दै राष्ट्रियता, सुशासन र शान्ति स्थापनाको दिशामा एमाले अघि बढ्छ।”

उनका अनुसार वर्तमान सरकार लोकतान्त्रिक विधि–प्रक्रियालाई बेवास्ता गर्दै ‘हिंसा, आगजनी र तोडफोड’ को वातावरणबाट जन्मिएको ‘अवैधानिक सत्ता’ हो, र यसबारे जनता पूर्ण रूपमा सचेत छन्।


सम्बन्धित समाचार