६ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको छ। लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२ ओभर २ बलमै १ विकेटको क्षतिमा पूरा गर्यो।
कर्णालीका मार्क वाट आजको खेलका नायक बने। उनले ४४ बलमा अविजित ११४ रन प्रहार गर्दै टिमलाई सानदार जित दिलाए। वाटले आफ्नो आक्रमक ब्याटिङमा चौका–छक्काको भरपूर प्रयोग गर्दै लुम्बिनीको बलिङ आक्रमणलाई धरमर पारे। उनका साथमा विलियम बोसिस्टोले अविजित २९ रन जोड्दै उत्कृष्ट साथ दिए। लुम्बिनीका शेर मल्लले एकमात्र विकेट लिए।
यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४९ रनको योगदान दिए। रुबेन ट्रम्पेलम्यानले अविजित २९ रन बनाउँदा जेजे स्मिथले २३ रन जोडे। कर्णालीका नन्दन यादवले २ विकेट लिँदा कप्तान सोमपाल कामीसहित गुलशन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट हात पारे।
यो जितसहित कर्णालीले प्रतियोगितामा पहिलो सफलता हात पारेको छ। पहिलो खेलमा कर्णाली चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो। लुम्बिनीले भने पहिलो खेलमा चितवनलाई ६ विकेटले पराजित गरेको थियो।
आजै दिउँसो साढे ३ बजे काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच रोचक भिडन्त हुने छ। काठमाडौंले यसअघि जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको भए पनि दोस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो। विराटनगरले पोखरालाई हराउँदै उत्कृष्ट सुरुवात गरिसकेको छ।

















