६ मंसिर,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध बजारमा आएको क्यासेटबारे स्पष्ट जवाफ मागेका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले प्रधानन्यायाधीशबाट अहिले प्रधानमन्त्री बनेका व्यक्तिहरूको भूमिकाप्रति आक्रोश व्यक्त गरे।
ओलीले भने, “दुर्गा प्रसाईंको विषयमा म ठ्याक्कै केही भन्न सक्दिनँ, तर उनले सार्वजनिक गरेको क्यासेटको सम्बन्धमा नेपाली जनतालाई सरकारले स्पष्ट जानकारी दिनुपर्छ। प्रधानमन्त्रीले पनि त्यो क्यासेटको वास्तविकता के हो भनेर बताउनुपर्छ।”
उनका अनुसार, उक्त क्यासेटमा प्रधानमन्त्री कार्कीको अभिव्यक्ति गैरजिम्मेवार रहेको सुनिन्छ। जेनजी आन्दोलनको समयमा हेलिकप्टर उडेको दृश्यसमेतको सन्दर्भमा उनले यो कुरा उल्लेख गरेका हुन्।
ओलीले प्रश्न गरे, “सेनाले नेताहरूलाई बचाएको विषयमा किन बचाउने भन्ने कुरा पूर्वप्रधानन्यायाधीश र अहिले असंवैधानिक प्रधानमन्त्रीको मुखबाट सुनिन्छ?” उनले प्रसाईंलाई क्यासेट सार्वजनिक गरेको कारण पक्राउ गरिएको आरोप समेत लगाए। ओलीले जोड दिए, “मान्छे पक्राउ गर्ने होइन, तर त्यो क्यासेटको अनुसन्धान र छानबिन हुनु आवश्यक छ।”















