६ मंसिर,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी निर्वाचनको तयारीसँगै सडक संघर्षका कार्यक्रमहरू पनि एकसाथ अघि बढाउने भएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यसबारे निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
बस्नेतका अनुसार, मंसिर १० गते पार्टीका जिल्ला अध्यक्षहरूले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ। त्यसपछि मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर र बजार क्षेत्रमा विरोध कार्यक्रम र कोणसभा आयोजना गरिने छ।
त्यस्तै, मंसिर १९ देखि २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिइने छ। मंसिर २७ देखि पुस ४ गतेसम्म देशभर जिल्लास्तरीय विरोध सभा र जनसभा पनि आयोजना गरिने बस्नेतले बताए।
पार्टीले प्रदेशस्तरीय जनप्रदर्शन र विरोध सभाको कार्यक्रमसमेत सार्वजनिक गरेको छ। पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगन्ज, र पुस १७ गते नेपालगन्ज र भैरहवामा कार्यक्रम हुने तय भएको छ।
बस्नेतले बताएअनुसार, जसपा नेपालले विगतदेखि नै उठाउँदै आएको माग र मुद्दामा सरकार सकारात्मक नदेखिएकाले सडक सङ्घर्षमा जानुपरेको हो।















