६ मंसिर,काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ मा हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने निर्णय गरेको छ। ललितपुरको सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समिति बैठकले चुनावमा भाग लिने निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए।
बैठकले महाधिवेशनबारे थप निर्णय गर्न अर्को बैठक मंसिर ११ गते बस्ने पनि जानकारी दिइयो। कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, बैठकले निर्वाचनको माध्यबाटै संविधानको रक्षा गर्ने निष्कर्ष निकालेको छ।
डा. महतले भने, “प्रतिनिधि सभा विघटन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यो विषय केवल राजनीतिक नभई संवैधानिक पनि हो। सर्वोच्च अदालतमा विचाराधीन भएकाले अन्तिम व्याख्या हुनेछ भन्ने कांग्रेसको विश्वास छ।” उनले थपे, “हालको राजनीतिक निकास निर्वाचन नै भएको बैठकले निष्कर्ष निकालेको छ।”















