६ मंसिर,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ को चुनावका लागि मत माग्ने अभियान सुरु गरेको छ। पार्टीले शनिबार पेरिसडाँडास्थित तत्कालीन माओवादी केन्द्रको मुख्यालयमा जेनजीसँग संवाद कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रम सांस्कृतिक प्रस्तुतिसहित सुरु भएको थियो। कलाकार, गायक, र रचनाकारहरूले “चम्किलो तारामा दिनुहोला भोट” भन्ने गीतमा प्रस्तुति दिएका थिए। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूले थपडी बजाउँदै र नाच्दै समर्थन जनाए।
नवगठित पार्टीको चुनाव चिह्न तारा हो। यो पार्टी १० भन्दा बढी दल–समूहको मिलनबाट बनेको हो, जसमा तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि छन्।
कार्यक्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरू सहभागी थिए। नेताहरूले जेनजीले चाहेको नेपाल निर्माण गर्ने प्रतिवद्धता दोहोर्याए। पार्टीका नेता जगन्नाथ खतिवडाले जनताको आवाज सुनेर अगाडि बढ्न तयार रहेको बताए।
खतिवडाले भदौ २३–२४ मा भएको जेनजी आन्दोलनलाई स्मरण गर्दै, मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्ने संकल्पसँगै पार्टी अघि बढिरहेको बताए। उनले राणा शासन, पञ्चायत र राजतन्त्र ढलेर गणतन्त्र प्राप्त भएको इतिहास पनि स्मरण गराए र भने– “हामी नयाँ पुस्तालाई नेतृत्व र जिम्मेवारी सुम्पन तयार छौं। पार्टीले परिवर्तनको चाहना बोकेको हुँदा नागरिकले पनि सोही अनुसार निर्णय लिनुहोस्।”
पार्टीले जनताको साथ लिएर नीति बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन स्थापना गर्ने र नेतृत्वमा पुस्तान्तरण गर्ने प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनमा मतदान गर्न सबैसँग आग्रह गरेको छ।















