Logo

६ मंसिर,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेन–रूस युद्धमा शान्ति स्थापना गर्न वाशिङ्टनले सम्भावित मार्ग पहिचान गरेको दाबी गरेका छन्। तर उनले स्पष्ट पारे– उक्त प्रस्ताव केवल युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले अनुमोदन गरे मात्र अघि बढ्नेछ।

ट्रम्पले व्हाइट हाउसको ओवल अफिसमा भने, “हामीले शान्ति ल्याउने एउटा तरिका फेला पारेका छौं। तर जेलिन्स्कीले यसको अनुमोदन गर्नुपर्छ। उनीहरू केही नजिकिँदै छन् जस्तो लाग्छ, तर म अड्कल गर्न चाहन्न।”

अमेरिकी पक्षले तयार पारिरहेको नयाँ शान्ति प्रस्ताव हाल किभमा अध्ययनाधीन छ। सिएनएनका अनुसार यो प्रस्ताव अझै विकासक्रममै छ र छलफलको क्रममा धेरै बुँदामा परिवर्तन हुन सक्छ।

त्यसै दिन युक्रेनी राष्ट्रपति जेलिन्स्कीले किभमा आयोजित कार्यक्रममा देश इतिहासकै चुनौतीपूर्ण समयमा रहेको चेतावनी दिएका छन्। उनले भने, “हाम्रो इतिहासका सबैभन्दा कठिन क्षणहरू मध्ये एकमा छौं। सम्मान गुमाउने कि प्रमुख साझेदार गुमाउने जोखिम लिनुपर्ने मोडमा छौं। कम्तिमा युक्रेनीहरूको सम्मान र स्वतन्त्रता कायम रहोस् भनेर म २४ घन्टा संघर्ष गर्नेछु।”

सिएनएनका अनुसार ट्रम्प प्रशासनभित्र छलफल भइरहेको प्रस्तावअनुसार, युक्रेनले पूर्वी डोन्बास क्षेत्रका केही भूभाग छोड्न र आफ्नो सैन्य क्षमतामा सीमितता स्वीकार्नुपर्ने हुन सक्छ। यसको सट्टामा अमेरिका सुरक्षा सुनिश्चित गर्ने ग्यारेन्टी दिने सम्भावना प्रस्तावमा समावेश गरिएको बताइएको छ।

तर अमेरिकी अधिकारीहरूले भने, प्रस्ताव पूर्ण रूपमा तयार छैन र रूस–युक्रेन दुवैले केही सम्झौता गर्नुपर्ने अवस्था छ। सन् २०१४ देखि चलेको संघर्ष २०२२ मा रूसको पूर्ण आक्रमणपछि युद्धमा परिणत भएको हो। प्रारम्भिक २८ बुँदाको ड्राफ्ट ट्रम्पले हेरेका छन् र समर्थन गरेका छन्, तर युक्रेनले अझै पनि पूर्ण रूपमा रूसको नियन्त्रणमा नपरेका क्षेत्रहरूमा भू–सम्झौता गर्न अस्वीकार गर्दै आएको छ।


सम्बन्धित समाचार