Logo

फाइल तस्बिर

६ मंसिर,झापा । मोरङको जङ्गल क्षेत्रमा हाल २५–३० वटा हात्तीको बथान लामो समयदेखि बस्दै आएको छ, जसले मानव–हात्ती द्वन्द्वको जोखिम बढाएको छ। वन्यजन्तु संरक्षणकर्मीहरूले पहिले नै यस क्षेत्रमा करिब ३० वटा रैथाने हात्ती रहेको बताइसकेका थिए। अहिले नयाँ बथान थपिएसँगै त्रास बढेको छ।

गत साता मोरङको सुन्दरहरैचा क्षेत्रको जंगलबाट पूर्वतर्फ लागेको २५–३० वटा हात्तीको बथान पूर्वी गौडा–बाहुनडाँगी हुँदै भारततिर लाग्ने सम्भावना देखिएको थियो। यो बथान दुई वर्ष अघि बाहुनडाँगी–गौडाबाट नेपाल भित्रिएका थिए।

डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार, मोरङबाट झापाको रतुवामाई वृक्षरोपण क्षेत्रसम्म आएका हात्तीको बथान केही छिन्नभिन्न भएर मोरङतिर फर्किसकेको छ भने अरु दुई झुण्ड झापाको जङ्गलमा फैलिएका छन्।

सीमित क्षेत्रफलको जंगलमा लगातार हात्तीको संख्या बढ्दा मानव–हात्ती द्वन्द्व स्वतः बढेको छ। जंगलमा हात्तीका लागि पर्याप्त आहार र सुरक्षित बासस्थान नहुँदा भोकिएका हात्ती गाउँ–बस्तीमा प्रवेश गर्छन्। यसले झापाको दमक, हम्सेदुम्से र शिवसताक्षी क्षेत्रमा स्थानीयवासीसँग हात्तीको झम्टा बढाएको छ।

चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलका अनुसार, मोरङबाट झापातिर आएको बथानका हात्तीहरू घुमन्ते प्राणी हुन्, तर आहार र सुरक्षित बासस्थान पाएसम्म ढिलो बसाई सार्छन्। उनका अनुसार, बथानमा साना बच्चा हात्तीको संख्या बढी छ र माउ हात्तीले उनीहरूलाई खुवाउँदै, ठाउँ चिनाउँदै अघि बढाउँछ।

भारतको आसामदेखि पश्चिम बंगाल हुँदै नेपाल भित्रिने हात्तीको बथान पुस्तौँदेखि ओहोरदोहोर गर्दै आएको छ। हाल झापा र मोरङमा धान, मकै र केरा पर्याप्त भएकाले यी हात्ती भारततिर नगएको हुनसक्ने खरेलले बताए।

रैथाने हात्तीको तुलनामा बथानका हात्ती कम आक्रामक हुने गरेका छन्। उनले भने, “मानिसले हात्तीलाई खेदाउँदा वा आगो झोस् गर्दा मात्रै आक्रमण हुने गर्छ। भोकका कारण जंगल बाहिर आउँदा मात्र बस्तीकै खेतीपातीमा असर पर्छ।”

हात्तीको संख्या बढेसँगै मानव–हात्ती द्वन्द्व बढ्ने सम्भावनालाई मध्यनजर गर्दै सरोकारवाला निकाय र स्थानीयवासीहरूले आवश्यक सावधानी अपनाउनुपर्ने खरेलले सुझाव दिएका छन्।


सम्बन्धित समाचार