Logo

६ मंसिर,वीरगञ्ज । बारा क्षेत्र नम्बर ४ का निवर्तमान सांसद तथा नेकपा एमालेका नेता किसान श्रेष्ठले आफ्नो घरमा जेनजी समूहका अगुवा सुदन गुरुङले प्रवेश गरी फेरि घर जलाउने धम्की दिएको बताएका छन्।

शनिबार बिहान जेनजी समूहका गुरुङसहितका केही युवाहरू श्रेष्ठको सिमरा स्थित घरमा पुगेका थिए। तर श्रेष्ठ काठमाडौंमा रहेका कारण उनीसँग भेट नभएको जानकारी दिइएको छ। गुरुङले सञ्चारकर्मीहरूसँगको कुराकानीमा श्रेष्ठले जेनजी युवाहरूसँग धम्की गर्दै आएको प्रतिक्रिया दिएका थिए।

श्रेष्ठले आफ्नो फेसबुक पेजमा पोष्ट गर्दै मंसिर ६ गते जीतपुरसिमरा–४ औराहा स्थित आफ्नो घरमा गुरुङले प्रवेश गरी घर जलाउने धम्की दिएको जनाए। उनले यस घटनाको गम्भीर घोरभत्र्सना गर्दै नेपाल सरकारसँग सुरक्षा प्रत्याभुती गराउन र शान्ति सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्।

श्रेष्ठले फेसबुकमा लेखेका छन्:
“म पार्टी कामको सिलसिलामा काठमाडौं गएको मौका छोपि आज मेरो घरमा जेनजीको कथित नेता सुदन गुरुङले प्रवेश गरी मेरा कर्मचारी–कामदारलाई धम्क्याउने र मेरो घर फेरि जलाउने धम्की दिएको घटनाको घोर भत्र्सना गर्दछु। यसरी जेनजीका नाममा भैरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभुती गराइदिन नेपाल सरकार र स्थानीय सरकारलाई अनुरोध गर्दछु।”

श्रेष्ठले यही मंसिर ३ र ४ गते सिमरामा घटेका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्। उनले घाइतेहरूको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन्।


सम्बन्धित समाचार