६ मंसिर,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकको नेतृत्व युवाहरूको काँधमा सुम्पिने बताएका छन्। शनिबार पेरिसडाँडामा पार्टीको मुख्यालयमा आयोजित जेनजी कार्यकर्तासँगको संवाद कार्यक्रममा प्रचण्डले यस्तो घोषणा गरेका हुन्।
कार्यक्रममा प्रचण्डले भने, “अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो। यो संकल्प हामीले गर्नुपर्छ र नयाँ नेपालको सपना हामीले देख्नुपर्छ।” उनले वर्तमान र भविष्यको नेतृत्वमा युवाहरूको सक्रियता अपरिहार्य रहेको बताए।
प्रचण्डले आफ्नो अनुभवसहित युवालाई मार्गदर्शन गर्दै भने कि अघिल्लो पुस्ताले वैचारिक, सांस्कृतिक र राजनीतिक दृष्टिले नयाँ पुस्तालाई गाइड गर्ने भूमिका निर्वाह गरेका थिए। उनले भने, “नेपालको विकास र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण र सुशासनमा अगाडि बढ्न युवाहरूले पहल गर्नु आवश्यक छ।”
उनले जेनजी आन्दोलनले देशभित्र मात्र नभई विश्वभर रहेका नेपालीहरूलाई पनि जागरुक बनाएको बताए। २३ र २४ भदौमा जेनजी युवाहरूले गरेको आन्दोलनले नयाँ परिस्थिति सिर्जना गरेको र देशलाई नयाँ चेतनातिर अघि बढ्न प्रेरित गरेको प्रचण्डको भनाइ थियो।
प्रचण्डले आफ्नो राजनीतिक यात्रा सम्झिँदै भने, “मैले १६ वर्षको उमेरमा पार्टीमा प्रवेश गरेँ, २७ वर्षको उमेरमा युवक संगठनको अध्यक्ष भएँ र ३५ वर्षको उमेरमा पार्टीको प्रमुख नेता बनेँ। आजका युवाहरूको सक्रियतामा नै मुलुकले नयाँ दिशा पाएको छ।”
उनले युवाहरूको सक्रियता र योगदानका कारण नेपालमा संविधान सभा निर्वाचन हुन सफल भएको, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको र सबै उत्पीडित वर्गको समावेशिता सुनिश्चित भएको बताए।
प्रचण्डले अन्ततः सबै पुस्ता, वर्ग र समुदायका युवाहरूलाई एकजुट भएर नयाँ नेपाल निर्माणमा सक्रिय हुन आग्रह गर्दै भने, “अब जुन पुस्तामा रहे पनि युवाहरूको सपना पुरा गर्न हामी तयार छौं। भ्रष्टाचार नियन्त्रण, सुशासन र जनगणतन्त्रसम्मको यात्रा युवाहरूको नेतृत्वमा अगाडि बढाउनुपर्छ।”















