६ मंसिर,वीरगञ्ज । शनिबारदेखि सुरु भएको वीरगञ्ज सुपर लिग (बीएसएल) क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा मधेस इलिट्सले रोयल्स वीरगञ्जलाई ६ विकेटले पराजित गर्दै उत्कृष्ट जीत हात पारेको छ।
नारायणी क्रिकेट मैदानमा भएको खेलमा रोयल्स वीरगञ्जले प्रस्तुत गरेको १२२ रनको लक्ष्य मधेस इलिट्सले १४.४ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो। मधेसका लागि नवीनकुमार यादवले सर्वाधिक ४१ रन जोडे भने सनी कुशवाहाले ३१ रनको योगदान दिए। बलिङतर्फ वीरगन्ज रोयल्सका सन्जन महतोले ३ विकेट र आदर्श भण्डारीले १ विकेट लिए।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको रोयल्स वीरगञ्जले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२१ रन मात्र बनाउन सफल भयो। टिमका लागि आदर्श भण्डारीले ५६ रन र सोनु शर्माले २५ रन बनाए। मधेस इलिट्सका रोहन यादवले २ विकेट र प्रथम साह कानुले १ विकेट लिए।
यसअघि शनिबारै सम्पन्न उद्घाटन खेलमा ड्रागन्स अफ साहिब दरबारले कालिकामाई क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो। प्रतियोगिताको औपचारिक उद्घाटन वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका हुन्।
वीरगञ्ज युथ स्पोर्ट्स एकेडेमीद्वारा आयोजित प्रतियोगितामा पाँच फ्रेन्चाइज टिम—साउथ जोन स्टार्स, ड्रागन्स अफ साहिब दरबार, मधेस एलिट्स, रोयल वीरगञ्ज ११ र अपन कालिकामाई—ले सहभागिता जनाएका छन्। प्रतियोगिताका संयोजक तथा पूर्व राष्ट्रिय खेलाडी हासिम अन्सारीका अनुसार अघिल्लो असोज २५ गते नेशनल इन्फोटेक कलेजमा सम्पन्न खेलाडी लिलामी (अक्सन) मा १४५ खेलाडी सहभागी भएका थिए, जसबाट छानिएका खेलाडीहरूलाई पाँच टिमले किनेका थिए।
प्रतियोगिताको लिग चरणअन्तर्गत कुल ११ खेल हुनेछन् भने फाइनल खेल मंसिर १३ गतेका लागि तय गरिएको छ।

















