Logo

७ मंसिर, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि देशभरका मतदाताको संख्या १ करोड ९० लाख ५ हजार ३२४ पुगेको छ। निर्वाचन आयोगका अनुसार यसअघि १ करोड ८१ लाख ६८ हजार मतदाता रहेकोमा चुनाव घोषणा भएपछि थप ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता नामावलीमा समावेश भएका हुन्।

चुनाव घोषणा गरेपछि मतदाता दर्ता रोक्ने प्रचलित कानुनी व्यवस्था रहे पनि सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरेपछि नामावली संकलनलाई निरन्तरता दिइएको थियो। राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन आवेदन दिन सकिने तथा बायोमेट्रिकका लागि कार्यालय जान नपर्ने व्यवस्था गरिएकोले नयाँ मतदाता उल्लेख्य रूपमा बढ्न सहयोग पुगेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

उनका अनुसार अध्यादेशपछि थप गरिएको अवधिमा कार्यालयमा उपस्थित भएर बायोमेट्रिक गराउने तीन लाख ४४ हजार ९१४ जना र राष्ट्रिय परिचयपत्र प्रयोग गरेर अनलाइन दर्ता गराउने चार लाख ९२ हजार १८० जना मतदाता थपिएका छन्। अब ज्यान गएका, दोहोरो दर्ता भएका वा उजुरी परेकाको विवरण छानबिन गरी आयोगले पुस १५ गते अन्तिम मतदाता सूची सार्वजनिक गर्नेछ।

मतदाता सूचीमा नाम समावेश भएका मध्ये फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने नागरिकले मात्र फागुन २१ गतेका लागि तोकिएको चुनावमा मतदान गर्न पाउनेछन्। आयोगले भने १६ वर्ष पुगेका सबै नागरिकको नामावली संकलनलाई निरन्तरता दिँदै आएको छ।


सम्बन्धित समाचार