Logo

७ मंसिर, चितवन । चितवनको कालिका नगरपालिकामा शनिबार राति भएको बोलेरो दुर्घटनामा नेपाली कांग्रेसका स्थानीय नेता राममणि न्यौपानेको मृत्यु भएको छ।

खैरहनी नगरपालिका–४ का ६२ वर्षीय न्यौपाने आफैंले चलाएको बा १८ च ८९७३ नम्बरको बोलेरो राति करिब १०ः३० बजे कालिका–११ सिद्धिकल्याण चौर नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।

प्रहरीका अनुसार सिध्दीबाट कल्याण चौरतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई भित्री सडकबाट करिब १५० मिटर तल खसेको थियो। गम्भीर घाइते न्यौपानेलाई उपचारका लागि भरतपुर अस्पताल पुर्‍याइएकामा राति १०ः५२ बजे चिकित्सकले मृत घोषित गरेका थिए ।

स्थानीय राजनीति र सामाजिक क्षेत्रमा सक्रिय न्यौपाने यसअघि प्रदेशसभा सदस्यमा कांग्रेसबाट बागी उम्मेदवार बनेका थिए। उनी सामुदायिक वनका पूर्व अध्यक्ष, व्यावसायिक मौरीपालक तथा रेडक्रस र रोटरी क्लबसहित विभिन्न सामाजिक संस्थामा सक्रिय रूपमा आबद्ध रहेका थिए।


सम्बन्धित समाचार