७ मंसिर, काठमाडौँ । वामपन्थी नेता मोहनविक्रम सिंहले जेनजी आन्दोलन बाह्य शक्तिको प्रभावमा सञ्चालन भएको दाबी गरेका छन् । शनिबार काठमाडौँमा जेनजी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै सिंहले उक्त आन्दोलन अमेरिकाद्वारा निर्देशित रहेको आरोप लगाए ।
उनका अनुसार अहिलेको सरकार जेनजी आन्दोलनको पृष्ठभूमिमा बनेपनि आन्दोलनको वास्तविक नेतृत्व बाह्य शक्तिसँग जोडिएको छ । “जेनजी आन्दोलन अमेरिकाद्वारा सञ्चालित हो । त्यसमा संलग्न धेरै व्यक्ति अमेरिकासँग सम्बन्धित छन्, बारबरा फाउण्डेशन तथा विभिन्न एनजिओ,आइएनजिओसँग जोडिएका छन्,” सिंहले भने ।
सिंहले पछिल्ला राजनीतिक गतिविधिहरूले आन्दोलनमा संलग्न केही व्यक्तिहरूको वास्तविक चरित्र सार्वजनिक भइरहेको दाबी गरे । उनले कुनै पनि देशको मूल राजनीतिक केन्द्र राजनीतिक दलहरू नै हुनुपर्ने उल्लेख गर्दै बाह्य प्रभावप्रति सजग रहनु आवश्यक रहेको बताए ।
यसैबीच, सोही कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले देशको वर्तमान अवस्थाको निकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको धारणा राखे । निर्वाचन सम्पन्न गर्नु प्रमुख विकल्प भए पनि, त्यस्तो सम्भावना नदेखिए संसद् पुनःस्थापनाको बाटो अवलम्बन गर्नुपर्ने उनले बताए।
“अहिलेको संक्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतिको विकल्प छैन । निर्वाचन सम्पन्न गर्न सकिँदैन भने संविधानसम्मत रूपमा संसद् पुनःस्थापना गर्नु अपरिहार्य हुन्छ,” नेता गुरुङले भने । उनले आवश्यकताअनुसार संविधान संशोधन गरेर अघि बढ्न सकिने उल्लेख गरे ।
गुरुङले हाल राजनीतिक दलहरूबीच एकअर्कामाथि गालीगलौज र दोषारोपणको प्रवृत्ति बढ्दो भएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।















