Logo

७ मंसिर, काठमाडौं । नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाका, केरुङ, करिब पाँच महिनादेखि पूर्ण रूपमा ठप्प रहँदा देशको अर्थतन्त्र र व्यवसायीहरू गम्भीर मारमा परेका छन् ।

गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीले मितेरी पुल बगाएपछि यो नाकाको सञ्चालन ठप्प भएको हो । बाढीले नेपालतर्फका सयौँ ट्रक कन्टेनरहरू बगाउनुका साथै मितेरी पुल ध्वस्त बनाएपछि अहिले पनि झन्डै ३०० वटा कन्टेनरहरू चीनतर्फ भन्सार प्रक्रियामा अड्किएका छन् । नेपालका व्यवसायीहरूले चीनबाट ल्याउन लागेका सामानहरू लोड भएका कन्टेनरहरू अड्किँदा ढुवानी पूर्ण रूपमा रोकिएको छ । काठमाडौंबाट करिब १३२ किलोमिटरको दूरीमा रहेको यो नाकाको अवरोधले गर्दा व्यवसायीहरूले अहिले गम्भीर आर्थिक संकट झेलिरहेका छन् ।

राजस्वमा ठूलो धक्का

केरुङ नाका, जुन राजस्व संकलनको हिसाबले देशको पाँचौँ ठूलो भन्सार कार्यालयको रूपमा स्थापित थियो, महिनौँदेखि बन्द रहँदा सरकारले पनि ठूलो राजस्व गुमाएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) मा १३ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहे पनि नाका ठप्प भएकै कारण सरकारले झन्डै १४ अर्ब रुपैयाँ बराबरको राजस्व गुम्न पुगेको छ ।

नाका सञ्चालनको प्रयास

उत्तरी छिमेकी चीनतर्फको यो महत्त्वपूर्ण व्यापारिक नाकाको अवरोध हटाउन अहिले काम भइरहेको छ । चीनतर्फ अस्थायी पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ, भने नेपालतर्फका अवरुद्ध सडकहरू भने खुलिसकेका छन् । यद्यपि, नाका कहिलेबाट पूर्ण रूपमा सञ्चालनमा आउँछ र व्यवसायीको ढुवानी कहिले सुरु हुन्छ भन्ने निश्चितता भने अझै छैन ।


सम्बन्धित समाचार