७ मंसिर, काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्ने व्यक्तिले अब मनोनयनपत्रसँगै अनिवार्य रूपमा आफ्नो सम्पत्ति विवरण र वैयक्तिक विवरण (व्यक्तिगत जानकारीं) पेस गर्नुपर्ने भएको छ ।
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई राय सुझावका लागि पठाएको प्रस्तावित निर्वाचन आचारसंहितामा यस्तो महत्त्वपूर्ण व्यवस्था समावेश गरिएको हो । आचारसंहिताको बुँदा १९ अनुसार, ‘पहिलो हुने निर्वाचित हुनेु निर्वाचन प्रणालीतर्फका उम्मेदवारले आयोगले तोकेको ढाँचामा सम्पत्ति विवरण तयार गरी सिलबन्दी रूपमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ । यस्तो सम्पत्ति विवरण मतदानको अन्तिम परिणाम प्रकाशन नहुँदासम्म सुरक्षित र गोप्य राखिनेछ।
तर, उम्मेदवार निर्वाचित भएको खण्डमा, सम्बन्धित व्यक्तिको मञ्जुरीका आधारमा आयोगले त्यस्तो सम्पत्ति विवरण सार्वजनिक गर्नेछ। निर्वाचित नभएका उम्मेदवारले फिर्ता मागेमा विवरण फिर्ता गरिनेछ र फिर्ता माग नगरेको खण्डमा अभिलेख राखी धुल्याइने व्यवस्था पनि आचारसंहितामा उल्लेख छ।
वैयक्तिक विवरण अनिवार्य सार्वजनिक
त्यसैगरी, बुँदा २० ले उम्मेदवारहरूलाई वैयक्तिक विवरण पेस गर्नुपर्ने बाध्यता बनाएको छ। उम्मेदवारले आफ्नो नाम, थर, ठेगाना, शैक्षिक योग्यता, अनुभव तथा आफूले उल्लेख गर्न चाहेको थप विवरण समावेश गरी तोकिएको ढाँचाको वैयक्तिक विवरण फाराम मनोनयनपत्रसँगै पेस गर्नुपर्नेछ ।
यसरी संकलित वैयक्तिक विवरण उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि निर्वाचन अधिकृतले आफ्नो कार्यालयमा प्रकाशन गर्ने र आयोगमा पठाउनेछन् । आयोगले सबै निर्वाचन क्षेत्रको विवरण एकीकृत गरी आफ्नो वेबसाइटमा प्रकाशन गर्नेछ, जसले मतदाताहरूलाई उम्मेदवारबारे जानकारी लिन सजिलो हुनेछ ।
















