Logo

७ मंसिरसेढवा । पर्साको ग्रामीण भेगका किसानहरू बर्सेनी हुने धान भित्र्याउने कार्य सकाउँदै अब अर्को प्रमुख बाली गहुँ छर्न तयारीमा जुटिरहेका छन्। धान भित्र्याएपछि खेतमा रहेका पराल जलाउने, व्यवस्थापन गर्ने तथा बढी चिस्यान भएको जमिनलाई फाली प्रयोग गरी जोत्न किसान व्यस्त देखिन्छन्। जिराभवानी गाउँपालिका–३ नौकाटोलाका किसान हरिशंकर राय थारूका अनुसार गहुँ बालीका लागि आवश्यक डिएपी, यूरिया, पोटासलगायतका रासायनिक मल र उन्नत बीउ–बिजनको व्यवस्थापनमा किसान सक्रिय छन्।

उता, ठोरी र जिराभवानी गाउँपालिकामा वर्षाले तोरी बालीमा क्षति पुर्‍याएपछि खाली भएको खेतमा किसानहरूले गहुँ छर्ने कार्य अघि बढाएको जिराभवानी गाउँपालिका–१ शान्तिनगरका रविमोहन सापकोटाले जानकारी दिए।

तर सबै क्षेत्रमा परिस्थिती सहज भने छैन। छिपहरमाई गाउँपालिका–४ बजारीका किसान नरेश साहका अनुसार नण्डक नहरभन्दा दक्षिणी क्षेत्रमा धान काट्न समेत नपुगेको अवस्था छ। छठ पर्वपछि परेको लगातार वर्षाले अहिले पनि खेतमा पानी जमेकाले धान भित्र्याउन नसकिएको उनले बताए। साहका अनुसार यस क्षेत्रमा गहुँ छर्नका लागि खेत तयार हुन अझै केही समय लाग्ने देखिएको छ।


सम्बन्धित समाचार