Logo

७ मंसिर,वीरगञ्ज । मधेस प्रदेशमा स्वास्थ्य कार्यालय पर्साले लगातार चार वर्षसम्म उत्कृष्टताको पहचान कायम राख्दै पहिलो स्थान हासिल गरेको छ। मधेस प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका ८ जिल्लाका स्वास्थ्य कार्यालयहरूको वार्षिक कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ, जसमा आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्म पर्सा निरन्तर प्रथम बन्दै आएको हो।

आर्थिक वर्ष २०८१/८२ को मूल्यांकनमा पनि स्वास्थ्य कार्यालय पर्साले ८७ अंक प्राप्त गर्दै पुनः पहिलो स्थान सुरक्षित गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोही मूल्यांकनमा स्वास्थ्य कार्यालय सर्लाही दोस्रो र महोत्तरी तेस्रो भएको छ।

स्वास्थ्य मन्त्रालयले प्रदेशभरि रहेका ८ वटा जिल्ला स्वास्थ्य कार्यालय, ११ वटा प्रादेशिक अस्पताल तथा एक स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कार्यसम्पादन मूल्यांकनमा समेट्दै आएको छ। मूल्यांकनका लागि मन्त्रालयस्तरीय समिति गठन गरिएको थियो।

आइतबार जनकपुरमा आयोजित प्रदेशस्तरीय वार्षिक समीक्षात्मक गोष्ठीमा मुख्यमन्त्री सरोजकुमार यादवले स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख विनोद झालाई प्रमाणपत्रसहित सम्मान गरे।

जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार सेवा प्रवाह, सेवाग्राहीको सन्तुष्टि लगायतका सूचकमा उत्कृष्ट उपलब्धिका आधारमा स्वास्थ्य कार्यालय पर्सा लगातार चार वर्षदेखि प्रदेशकै उत्कृष्ट कार्यालय बन्दै आएको छ।


सम्बन्धित समाचार