७ मंसिर, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने सहमतिमा पुगेका छन्।
तीन दलबीच भएको सहमति अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा नागरिक उन्मुक्ति पार्टी नेपालले प्रयोग गर्दै आएको ‘जाँतो (चकिया)’ चिह्नलाई संयुक्तरूपमा प्रयोग गरिनेछ।
सहमति पत्रमा भनिएको छ, “हामी तीन पार्टी—जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल—एकल चुनाव चिह्नमा भाग लिन सहमत भयौं। संयुक्त चिह्नका रूपमा नागरिक उन्मुक्ति पार्टीको कायम रहेको जाँतो चिह्न प्रयोग गर्नेछौं।”
साथै तीन दलले विचार मिल्ने अन्य राजनीतिक दलहरूलाई पनि एउटै चिह्नमा आएर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन्।














