Logo

८ मंसिर, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद र बेपत्ता परिवारका लागि आफूले गर्व गर्नलायक काम गर्न सफल रहेको बताएका छन् ।

आइतबार नुवाकोटको लिखु गाउँपालिका–५ मा निर्माण भएका सहिद स्मृति केन्द्र भवन र सहिद स्मृति पार्कको उद्घाटन गर्दै प्रचण्डले जनयुद्ध र परिवर्तनका सफलताको आधार सहिद, बेपत्ता तथा घाइते योद्धाको बलिदान भएको बताए ।

‘सहिदलाई राष्ट्रिय सहिद घोषणा मेरी पहिलो निर्णय’

प्रचण्डले जनयुद्धको सफलता, सङ्घीय गणतन्त्र, नयाँ संविधान जारी गर्ने प्रक्रियादेखि राज्य पुनःसंरचनासम्मका परिवर्तन सहिदको योगदानकै कारण सम्भव भएको बताए ।

“पहिलो पटक प्रधानमन्त्री हुँदा मेरो पहिलो निर्णय जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने थियो,” प्रचण्डले भने, “त्यो बेला कार्यान्वयन नभए पनि तेस्रो कार्यकालमा सबै आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेर राजपत्रमा सूचना प्रकाशित गर्न पाउँदा गर्व लागेको छ।”

उनले बेपत्ता छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगका कामलाई टुंग्याउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएको उल्लेख गर्दै अब परिपूरण कार्यान्वयनमा सरकार केन्द्रित हुने बताए । परिपूरण अन्तर्गत सहिद तथा बेपत्ता परिवारलाई परिचयपत्र वितरण, सार्वजनिक सेवामा छुट सुविधा, परिवारका एक सदस्यलाई रोजगारी, न्यूनतम १० लाख रुपैयाँ सहयोग जस्ता व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रचण्डको प्रतिबद्धता थियो ।

उनका अनुसार शान्ति प्रक्रियालाई पूर्णता दिन परिपूरण महत्वपूर्ण चरण भएकाले अन्तर्राष्ट्रिय समुदाय र दातृ निकायको सहयोग जुटाएर कार्यान्वयन अघि बढाइने छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत प्राप्त ९० लाख रुपैयाँको लागतमा बनेको सहिद स्मृति केन्द्रलाई अब स्थानीय कार्यालयका रूपमा प्रयोग गरिने छ।

सोही अवसरमा जनयुद्धका क्रममा लिखु गाउँपालिकाबाट दिवंगत ११ सहिद तथा एक बेपत्ता गरी १२ जनाको शालिक प्रचण्डले एकसाथ अनावरण गरे।


सम्बन्धित समाचार