८ मंसिर, काठमाडौं । सरकारले आम नागरिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्न सुरु गरेको सामाजिक सुरक्षा कोष मा योगदान रकम झन्डै एक खर्ब रुपैयाँ पुगेको छ ।
कोषका अनुसार हालसम्म कुल योगदान रकम ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार ३६२ रुपैयाँ पुगेको छ, जसले कोषको बढ्दो प्रभावकारितालाई दर्शाउँछ। हालसम्म कोषमा २२ हजार ३०९ रोजगारदाता तथा २६ लाख ४१ हजार १८९ योगदानकर्ता सूचीकृत भइसकेका छन् । योगदान रकम बढ्दै जाँदा कोषले हालसम्म १७ अर्ब ६४ करोड ८८ लाख ३४ हजार ६८४ रुपैयाँ बराबरको दाबी भुक्तानी गरिसकेको छ ।
भुक्तानी भएको रकममध्ये अवकाश दाबी योजना अन्तर्गतको रकम सबैभन्दा बढी १४ अर्ब ६१ करोड ७३ लाख १४ हजार २७१ रुपैयाँ रहेको छ । यसबाहेक औषधी उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा दाबी योजना अन्तर्गत पनि करोडौं रकम भुक्तानी भएको छ । पछिल्लो समय सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई समेत कोषमा अनिवार्य सहभागी गराउने बाध्यकारी व्यवस्था लागू गरेपछि कोषमा योगदानकर्ताको संख्या उल्लेख्य रूपमा बढेको छ ।
स्वरोजगार श्रमिक र विभिन्न संघसंस्थाका कामदारहरू समेत कोषमा जोडिन सक्ने व्यवस्था छ। कोषमा नियमित योगदान गर्नेले पेन्सन, औषधोपचार र सुरक्षा योजनाहरूको सुविधा पाउँछन् । योगदान रकम बढ्दै जाँदा अब कोषलाई थप प्रभावकारी बनाउन सिर्जनशील योजना ल्याउनुपर्ने र रकम लगानीका नयाँ स्रोतहरूको खोजी गर्नुपर्ने आवश्यकता महसुस भएको छ।














