Logo

८ मंसिर, काठमाडौं ।  विभिन्न विवादमा मुछिएका रामबहादुर बम्जनको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दा आज सर्वोच्च अदालतको पेसीमा चढेको छ ।

हाल पुर्पक्षका लागि कारागारमा रहेका बम्जनको उक्त मुद्दा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइका लागि तोकिएको हो । बम्जनलाई सवा ८ करोडभन्दा बढीको बिगो सहित सम्पत्ति शुद्धीकरण मुद्दा लागेको थियो। सर्लाही जिल्ला अदालतमा २०८१ फागुन ५ गते दर्ता भएको यस मुद्दामा बम्जनविरुद्ध कुल ८ करोड २७ लाख ५९ हजार ४८१ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कसुर अनुसारको कैद सजाय माग गरिएको छ ।

यसअघि, जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि त्यसलाई चुनौती दिँदै उनी उच्च अदालत जनकपुर पुगेका थिए, तर उच्च अदालतले पनि जिल्ला अदालतको सुरुको आदेश सदर गरिदियो। त्यसपछि थुनामुक्त हुन माग गर्दै बम्जन दफा ७३ अन्तर्गत निवेदन लिएर सर्वोच्च अदालत आएका हुन् ।

यसअघि सर्लाही जिल्ला अदालतले एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा बम्जनलाई २०८१ असारमा १० वर्ष कैद र पाँच लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो । तर, उनले उच्च अदालत जनकपुरमा पुनरावेदन गर्दा उच्च अदालतले गत चैत ६ गते जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएपछि उनी जेलमुक्त भएका थिए ।

सफाइ पाएर मुक्त भएको केही समयमै उनी सम्पत्ति शुद्धीकरणको आरोपमा पुनः कारागार चलान भएका हुन् र अब उनको यो मुद्दा सर्वोच्चमा विचाराधीन छ ।


सम्बन्धित समाचार