Logo

८ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरूलाई सचिवालयमा नियुक्त गरेको भन्ने चौतर्फी आलोचना र आरोपपछि प्रधानमन्त्रीको सचिवालयले मुख खोलेको छ ।

प्रेस संयोजक रामबहादुर रावलले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाउँदै अनावश्यक रूपमा जोडिएको र थर वा जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको भन्दै ती आरोपहरूको खण्डन गरिएको छ । विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्रीको निवासमा रहेर चौबीसै घण्टा नजिकबाट सहयोग गर्नुपर्ने र सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्ति को कानुनसम्मत नियुक्तिलाई लिएर अन्यथा व्याख्या नगरिदिन आग्रह गरिएको छ ।

यसका साथै, सचिवालयले मितव्ययिता, पारदर्शिता र जवाफदेहिता मा संवेदनशील रहँदै आएको दाबी गरेको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार राज्यकोषमा कम भार परोस् भनी विगतका सरकारहरूले ६७ जनासम्मको दरबन्दीमा पदपूर्ति गर्ने गरेकोमा वर्तमान प्रधानमन्त्री कार्कीले अत्यन्त जरुरी र छरितो कामका लागि मात्र जम्मा २० जनाको न्यून जनशक्ति बाट सचिवालय सञ्चालन गर्दै आएको जानकारी दिइएको छ।

कार्यविधिमा ७ जना सल्लाहकार र १९ जना विज्ञ कर्मचारी राख्ने दरबन्दी भए पनि हाल क्रमशः २ र ४ जना मात्र नियुक्त भएको तथ्याङ्क प्रस्तुत गर्दै प्रधानमन्त्रीको सचिवालयले आफ्नो कार्यप्रणाली पारदर्शी रहेको जिकिर गरेको छ।


सम्बन्धित समाचार