८ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) मा वीरगञ्ज भन्सार कार्यालयले ७५ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
भन्सार विभागले कार्यालयलाई सो अवधिका लागि ८९ अर्ब २४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएको भए पनि निर्धारित लक्ष्यको ८५ प्रतिशत मात्र संकलन भएको छ । चालु आवको साउन, भदौ र असोज महिनामा राजस्व संकलन उत्साहजनक रहे पनि कात्तिक महिनामा भने उल्लेखनीय कमी आएको देखिएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले कात्तिक महिनामा जेनजी आन्दोलन, छठपर्व र बाढीलगायतका कारणले राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको स्पष्ट पारेका छन् । उनका अनुसार, कात्तिक महिनामा २३ अर्ब ६३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा त्यस अवधिमा जम्मा १७ अर्ब ३३ करोड रुपैयाँ मात्र संकलन हुन सक्यो ।
तथ्याङ्क अनुसार साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड र असोजमा १९ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। यसरी चाडपर्व र आन्दोलनका कारण कात्तिकमा आयात तथा कारोबार प्रभावित हुँदा कुल राजस्व संकलनमा असर परेको छ ।















