८ मंसिर, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार जंगलमा सोमबार बिहान एक जोडी युवायुवती मृत अवस्थामा फेला परेका छन् ।
जंगलमा घाँस काट्न गएका स्थानीयहरूले रुखमा झुन्डिएको अवस्थामा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाले उनीहरू रुखमा झुन्डिएको अवस्थामा फेला परेको पुष्टि गरेका छन् । प्रहरीको अनुमान अनुसार मृतक युवक अन्दाजी २१ वर्षका र युवती २० वर्षकी छन् । यद्यपि, हालसम्म उनीहरूको नाम, थर र ठेगाना सहितको विस्तृत पहिचान खुल्न सकेको छैन ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी बिट लाटिकोइलीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। साथै, थप अनुसन्धानका लागि प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा ५ जनाको अर्को टोली पनि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट घटनास्थलमा खटिएको डीएसपी बुढथापाले जानकारी दिए। प्रहरीले हाल शवको मुचुल्का उठाउने तथा घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।















