८ मंसिर, काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने राजनीतिक दलहरूको संख्या बढेर १३२ पुगेको छ ।
निर्वाचन आयोगका अनुसार हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेसँगै आज दिउँसोसम्म दर्ता हुने दलको संख्या १३२ पुगेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेपछि भदौ २७ गते यता मात्रै १३ वटा नयाँ दल दर्ता भएका छन् । प्रतिनिधि सभाको निर्वाचनमा भाग लिनका लागि दलहरूले निर्वाचन प्रयोजनका लागि पनि छुट्टै दल दर्ता गर्नुपर्ने व्यवस्था छ।
सोही अनुसार, प्रतिनिधि सभा निर्वाचनमा भाग लिने गरी हालसम्म ५६ वटा दल ले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसकेका छन् । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय यही मंसिर १० गतेसम्म तोकिएको छ, जसभित्र दर्ता हुने दलहरूले मात्रै आगामी चुनाव लड्न पाउनेछन् ।
आयोगले घोषणा गरेको ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार, आगामी माघ ६ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकिएको छ । मनोनयन दर्तापछि ७ माघमा उजुरी दिने, ८ माघमा उजुरी उपर जाँचबुझ गर्ने र ९ माघमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।















