Logo

८ मंसिर, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको वातावरण तयार गर्न र राजनीतिक सहकार्य बढाउन प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफलको तयारी गरेकी छिन् । हाल दोस्रो तहका नेताहरू र नागरिक समाजका अगुवाहरूको पहलमा प्रधानमन्त्रीको शीर्ष नेतृत्वसँग भेटवार्ता गराउने प्रयास भइरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतका अनुसार शीर्ष नेताहरूसँगको वार्ताको तयारी भइरहेको भए पनि कुन–कुन दलका नेताहरूसँग भेट्ने भन्ने विषय भने खुलाइएको छैन । स्रोतले भनेको छ, ‘छलफल चलिरहेको छ। एकसाथ भेट्ने कि अलग–अलग भेट्ने भन्ने विषय छलफलकै क्रममा छ।’ राजनीतिक दलका दोस्रो तहका नेताहरू र उनीहरूनिकट नागरिक समाजका व्यक्तित्वहरूसँग विभिन्न माध्यमबाट सूचना आदानप्रदान भइरहेको छ ।

प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरूसँगको छलफलका लागि यही साताभित्रै निम्तो पठाउन सक्ने सम्भावना रहेको स्रोतले दाबी गरेको छ । ‘यही हप्ताभित्रमा निम्तो जान्छ कि भन्ने हिसाबले कुरा भइराखेको छ, तर मिति भने तय भइसकेको छैन,’ प्रधानमन्त्री कार्यालय स्रोतले उल्लेख गरेको छ । यस पहलले निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलहरूबीच सहमति र सहकार्यको वातावरण बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार