Logo

८ मंसिर, काठमाडौं ।  अर्थ मन्त्रालयले खुद्रे कार्यक्रमहरू कटौती गर्ने निर्णय गरेसँगै जलस्रोत तथा सिँचाइतर्फका १९ वटा बजेट शीर्षकहरूमा ८ अर्ब ७२ करोड रुपैयाँ बराबरको ठूलो रकम रोक्का गरिएको छ ।

सोमबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा जलस्रोत तथा सिँचाइ सचिव सरिता दुवाडीले उक्त जानकारी दिएकी हुन् । सचिव दुवाडीका अनुसार मन्त्रालको कुल बजेटमध्ये झन्डै पौने ९ अर्ब रुपैयाँ रोक्का भएको कारणले चालु आर्थिक वर्ष २०८२/०८३ मा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य प्रभावित हुने देखिएको छ । सरकारले यस वर्ष थप १४ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको थियो, तर बजेट कटौतीका कारण उक्त लक्ष्यमा केही संशोधन गर्नुपर्ने अवस्था आएको उनले बताइन् ।

हाल नेपालमा कुल २५ लाख ३७ हजार हेक्टर सिँचाइयोग्य जमिन मध्ये अहिलेसम्म १५ लाख ८६ हजार हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ। यसरी सिँचाइको महत्त्वपूर्ण क्षेत्रमा बजेट रोक्का हुँदा लक्षित किसान र उत्पादनमा असर पर्ने सम्भावना देखिएको छ ।


सम्बन्धित समाचार