Logo

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा चुनावको टिकट वितरण नहुने स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले आफ्ना साथीहरूले ‘वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने हो? भनेर सोधिरहेको भन्दै त्यसको जवाफमा उनले यस्तो नहुने दाबी गरेका हुन् । महामन्त्री थापाले पार्टी विधानअनुसार समयभित्रै विशेष महाधिवेशन हुने र त्यस महाधिवेशनबाट नयाँ सभापतिको निर्वाचन गरिने स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘प्रष्ट छ– अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।’

थापाले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन अगाडि नै आफूले विशेष महाधिवेशन हुनुपर्छ भन्दै आएको स्मरण गराएका छन् । उनले पार्टीभित्र विशेष महाधिवेशनको विकल्प नरहेको उल्लेख गर्दै कार्यकर्ताहरूलाई कुनै पनि अलमलमा नपर्न समेत आग्रह गरेका छन् । यद्यपि, नेपाली कांग्रेसभित्र हाल विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने विषयमा भने नेताहरूबीच अझै सहमति जुट्न सकेको छैन ।


सम्बन्धित समाचार