८ मंसिर, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९, नयाँ बसपार्कमा गत शनिबार बिहान तन्नाले बेरिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार मृतक महिला रुकुम घर भएकी अन्दाजी २० वर्षकी माया भन्ने आयुषा मगर रहेको पुष्टि भएको छ । सुरुमा अनुसन्धान अधिकृतहरूले शव तेस्रो लिंगीको भएको आकलन गरे पनि त्रिवि शिक्षण अस्पतालको प्रारम्भिक जाँचपछि शव महिलाको भएको खुलेको थियो । यस हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले उदयपुर घर भएका करिब २५ वर्षका सूर्य थापा मगर लाई नियन्त्रणमा लिएको छ। मगर बसपार्क नजिकैको एक होटलमा सेफ (भान्से) को रूपमा काम गर्थे । प्रहरीको विस्तृत अनुसन्धानबाट मृतक मगर र आरोपी मगरबीच आर्थिक लेनदेन रहेको खुलेको छ ।
प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार आरोपी मगरले पाँच सय रुपैयाँ सापटी रकम पटक–पटक फिर्ता माग्दा नदिएपछि विवाद भएको थियो । मगरले प्रहरी समक्ष दिएको बयानमा पाँच सय नदिएको रिसमा डर देखाउने उद्देश्यले सामान्य कुटपिट गर्ने क्रममा घाँटी थिच्दा आयुषा मगरको ज्यान गएको स्वीकार गरेका छन् । घाँटी थिचेकै कारण ज्यान गएपछि सूर्य थापा मगरले शवलाई होटलकै तन्नाले बेरेर बसपार्कमा छोडिदिएको प्रहरीले जनाएको छ।















