८ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतको पिटिसी कम्पनीसँग गरिएको विद्युत् खरिद सम्झौताबाट सरकारलाई एक अर्ब २० करोड रुपैयाँ बराबरको मुनाफा भएको दाबी गरेका छन् ।
सोमबार संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा स्पष्ट पारेका हुन् । मन्त्री घिसिङले उक्त सम्झौताबाट सरकारले गैरकानूनी ढंगले ४३ करोड रुपैयाँ गुमाएको र ठूलै आर्थिक चलखेल भएको भन्ने आरोप पूर्ण रूपमा असत्य रहेको जिकिर गरे । उनले पिटिसी कम्पनीको पुरानो ८ रुपैयाँ १० पैसाको रेटको तुलनामा अहिलेको ६ रुपैयाँ ९५ पैसाको रेट ले गर्दा करिब १ अर्ब २० करोड रुपैयाँको मुनाफा भएको स्पष्ट पारे ।
उनले यदि तत्काल सो सम्झौता गरेर विद्युत् खरिद नगरिएको भए देशमा लोडसेडिङ गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने खतरा समेत रहेको बताएका छन् । घिसिङले पहिलेको कन्ट्र्याकमा बिहार र यूपीबाट ८ रुपैयाँ १० पैसामा किन्नुपर्ने बाध्यात्मक स्थिति रहेकोले अहिलेको ६ रुपैयाँ ९५ पैसाको रेटबाट प्रति युनिट १ रुपैयाँ १५ पैसा नाफा भएको तर्क दिए ।
यसबाहेक, उनले सरकारले भारतसँगको तत्कालको आवश्यकता पूर्तिका लागि डे टु डे अर्थात् हरेक दिनको विद्युत् खरिद सम्झौता समेत गर्ने गरेको जानकारी दिए ।
















