Logo

८ मंसिर,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ३०, लालपर्सामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई जनमत पार्टी पर्साले चार थान डेस्क–बेन्च उपलब्ध गराएको छ। लोककल्याणकारी अभियानको क्रममा विद्यालयमा देखिएको आवश्यकतालाई ध्यानमा राख्दै अध्यक्ष ओमप्रकाश सर्राफको पहलमा डेस्क–बेन्च हस्तान्तरण गरिएको हो।

हस्तान्तरण कार्यक्रममा जनमत पार्टीका अध्यक्ष ओमप्रकाश सर्राफले शिक्षा समाज रूपान्तरणको आधार भएकाले विद्यालयको वातावरण सुधार गर्न सबै पक्षले सहकार्य गर्नुपर्ने बताए। उनले भने, “मधेस प्रदेशको शैक्षिक सूचकांक अन्य प्रदेशको तुलनामा कमजोर देखिनु चिन्ताको विषय हो। यस्तो अवस्थामा समुदाय, स्थानीय सरकार र राजनीतिक दलले संयुक्त रूपमा विद्यालयलाई सबल बनाउन भूमिका खेल्न आवश्यक छ।”

सर्राफले विद्यालयमा आधारभूत शैक्षिक पूर्वाधारको अभावले विद्यार्थीको सिकाइमा असर पर्ने भएकाले पार्टीले आफ्नै स्तरबाट सहयोग गर्दै आएको उल्लेख गरे। उनले थपे, “हामीले गरेको यो सहयोग सानो भए पनि विद्यालय सुधारमा टेवा पुग्न सक्छ भन्ने विश्वास छ।”

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुप महतोको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, क्षेत्रीय संयोजक डा. मनोज सर्राफ, जिल्ला सदस्य नागेन्द्र गुप्ता, नागेन्द्र यादव, महानगर उपाध्यक्ष निरन्जन कुशवाहा, युवा नेता राजन मण्डल र अनिल शर्मा, प्रधानाध्यापक हेम आचार्य लगायतको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार