Logo

८ मंसिर,वीरगञ्ज । कलैया उपमहानगरपालिका–३ का समाजसेवी नगिना साहले जितपुर सिमरा उपमहानगरपालिका–१९, मधुरापुरमा अवस्थित ब्रहम बाबा मन्दिर संरक्षण समितीलाई एक कठ्ठा जग्गा दान गरेका छन्। पाँच पटक वडा अध्यक्ष भइसकेका साहले मुख्य सडकछेऊको जग्गा औपचारिक रूपमा मन्दिरलाई हस्तान्तरण गरेपछि स्थानीयवासीमध्ये खुशीको माहोल फैलिएको छ।

मन्दिर व्यवस्थापन समिति तथा वडावासीको उपस्थितिमा सम्पन्न दान कार्यक्रममा साहले धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण समुदायकै जिम्मेवारी भएको बताउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरे। उनले आफू र श्रीमती गिता देवीको मनोकामना पूरा भएको उल्लेख गर्दै दान गरिएको जग्गा मन्दिर विस्तार, धर्मशाला निर्माण तथा भक्तजनका सुविधाका लागि प्रयोग हुने विश्वास व्यक्त गरे।

वडा अध्यक्ष दिपेन्द्र कुमार छेत्रीले धार्मिक तथा सांस्कृतिक विकासमा साहको योगदान प्रशंसनीय रहेको बताए। वडासदस्य मदन साह तेलीले यस सहयोगप्रति सम्पूर्ण वडावासी सदैव कृतज्ञ रहने प्रतिक्रिया दिए।

मन्दिर संरक्षण समितिका अध्यक्ष लालबाबु साहले यस्ता धर्मात्मा दानदाताहरूको योगदानले धार्मिक तथा सांस्कृतिक जगेर्नामा ठूलो भूमिका खेलेको बताए। स्थानीय पासपत पास्वानले साहको कदमलाई समाज र संस्कृतिप्रतिको समर्पणको उत्कृष्ट उदाहरणका रूपमा स्वागत गरे।

मन्दिर समितिका पदाधिकारीहरूले योजनाबद्ध रूपमा निर्माण तथा विकास कार्य अघि बढाइने जनाएका छन्। कार्यक्रममा पाँच सयभन्दा बढी स्थानीयवासीको उपस्थिति रहेको समितिका सचिव भरोश दास थारूले जानकारी दिएका छन्।


सम्बन्धित समाचार