Logo

८ मंसिर,वीरगञ्ज । बाराको पचरौता नगरपालिका–६ चिकनी टोलमा गएराति तस्कर समूहले प्रहरीले रोक्न खोजेपछि प्रहरीमाथि गोली प्रहार गरेका छन्। अचानक तनावपूर्ण घटना तब उत्पन्न भयो जब इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट गस्तीमा रहेको प्रहरी टोलीको भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको करिब २५ जनाको तस्कर समूहसँग आमनेसामने भेट भयो।

तस्करी सामानसहित, मोटरसाइकल र ट्याक्टरलिएर आउँदै गरेका तस्करहरूलाई रोक्ने प्रयास गर्दा उनीहरूले कटुवा बन्दुकबाट २ राउन्ड गोली चलाएका थिए।

प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार, प्रहरीले ७ राउन्ड जवाफी फायर गरेपछि तस्करहरू ट्याक्टर छाडेर भारततर्फ भागेका छन्। घटना भइरहेको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमाण्डमा थप फोर्स घटनास्थलतर्फ पठाइएको थियो।

दसगजाका आसपास छाडेर भागेको अवस्थामा तस्करहरूले प्रयोग गरेका चारवटा भारतीय नम्बरका मोटरसाइकल, दुई मोबाइलफोन, र भारतीय नागरिक रञ्जित कुमारको नाममा जारी सवारी चालक अनुमति पत्रसहितका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थल आसपासको क्षेत्रमा निगरानी कडा पार्दै थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।


सम्बन्धित समाचार