Logo

९ मंसिर, वीरगञ्ज । भदौ २३ पछि देखिएको जेनजी आन्दोलनको प्रभाव अब विद्यालयसम्म पुगेको छ ।

बाराको सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षकहरूले आन्दोलनपछि विद्यार्थीको व्यवहार एकाएक आक्रामक बन्दै गएको र विद्यालयमै धम्की दिने क्रम बढेको गुनासो गरेका छन् ।

सोमबार इलाका प्रहरी कार्यालय सिमरामा आयोजित प्रहरी–स्थानीय अन्तरक्रिया कार्यक्रममा विद्यालयका १०+२ इन्चार्ज डम्बर खड्काले हाल विद्यालयको वातावरण तनावपूर्ण बन्दै गएको बताए।

“विद्यार्थीलाई पढाउँदा पनि अब डर लाग्छ”

खड्काका अनुसार जेनजी आन्दोलनपछि केही विद्यार्थीले शिक्षकमाथि धम्कीपूर्ण बोलीवचन प्रयोग गर्न थालेका छन्। उनले भने, “जेनजीकै उमेर समूहका विद्यार्थीहरूलाई हामीले पढाउनुपर्छ। अहिले कक्षा कोठामा पढाउँदा पनि डराउनुपर्ने अवस्था बनिसकेको छ।”

अन्तरक्रिया कार्यक्रममा उनले दुई साताअघि विद्यालयमा भएको एउटा घटनाको उदाहरण प्रस्तुत गरे । खड्काका अनुसार कक्षा–१० मा बस्नुपर्ने एक विद्यार्थी कक्षा–९ मा बसेको देखियो,  शिक्षकले उचित कक्षामा पठाउन खोज्दा विद्यार्थी रिसाए र ढोका फुटाएको घटना भएको थियो ।

उनका अनुसार सोही विद्यार्थीले “स्कुल जलाईदिन्छु” भन्ने धम्की दिएको र त्यसकै दबाबमा एकजना पुराना अंग्रेजी शिक्षकले समेत जागिर छाड्न बाध्य हुनुपरेको बताए ।

“वीरगन्जबाट पढाउन आउने शिक्षकले अब यहाँको वातावरण सुरक्षित छैन भन्दै कक्षा लिन छाड्नुभयो,” उनले बताए।

व्यवसायीहरूको गुनासो : जेनजी आन्दोलनपछि वातावरण नै बिग्रियो

कार्यक्रममा जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जेनजी आन्दोलनले स्थानीय व्यवसाय, उद्योग र पर्यटन क्षेत्र सबै प्रभावित भएको बताए ।

उनले भने, “भदौ २३ पछि यहाँको व्यावसायिक वातावरण नै बिथोलिएको छ। उद्योग–व्यवसाय सुरक्षित छैनजस्तो महसुस हुन्छ, तर सुरक्षा निकायले अपेक्षित ध्यान दिएको देखिँदैन।”

“उमेरगत ऊर्जा नियन्त्रणमा अभिभावक र समाज सबै जिम्मेवार”

– डिआईजी गोविन्द थपलिया

मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी गोविन्द थपलियाले जेनजी आन्दोलनपछि देखिएको तनावलाई समाजका सबै पक्षले मिलेर सम्बोधन गर्नुपर्नेमा जोड दिए।

उनले भने, “जेनजी भनेका सबैका छोराछोरी, भाइ–भतिजा हुन् । उमेरअनुसार उनीहरूमा ऊर्जा र संवेग बढी हुन्छ । त्यसलाई सही दिशामा लैजान अभिभावक, विद्यालय, समाज सबैले भूमिका खेल्नुपर्छ।”

डिआईजी थपलियाले भदौ २३ को घटनापछि युवामा बढेको आक्रोशलाई दुरुपयोग गर्नेहरू सक्रिय हुनसक्ने भन्दै सचेत रहन आग्रह गरे । “हामीले भीडलाई अनियन्त्रित बनाउने चलखेल पहिल्यै देखेका छौँ । त्यसैले युवाको भावनालाई सही दिशामा लगाउन सबै जिम्मेवार बन्नुपर्छ,” उनले भने ।

कार्यक्रममा सहभागी स्थानीय व्यवसायी, शिक्षा क्षेत्रका प्रतिनिधि, उद्योगी, पत्रकार लगायतले विद्यालय तथा शैक्षिक क्षेत्रमा देखिन थालेको असामान्य वातावरणप्रति चिन्ता व्यक्त गरे।
उनले विद्यालयमा काउनसलिङ, अभिभावक-शिक्षक-विद्यार्थी संवाद, र प्रभावकारी सुरक्षा व्यवस्थामा ध्यान दिन राज्य पक्षलाई आग्रह गरे ।


सम्बन्धित समाचार